
तानसेन नगरपालिकास्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधि तानसेन नगरपालिका–९, स्थित दमकडा नमुना माध्यमिक विद्यालयले जितेको छ । नगरपालिकाका ३४ मध्ये २८ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा दमकडाले १४ स्वर्ण, ७ रजत, ४ कांस्य गरी २५ पदकसहित पहिलो भएको हो ।
पहिलो हुने विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरे, तानसेन नगरपालिका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेलगायतले पुरस्कार तथा शिल्ड प्रदान गरे ।

प्रतियोगितामा ६ स्वर्ण, १ रजत र ५ कांस्य गरी १२ पदकसहित तानसेन नगरपालिका–७, सुन्दरगाउँस्थित सरस्वती मावि दोस्रो भयो । तानसेन नगरपालिका–८, मदनपोखरा ५ स्वर्ण, ९ रजत र ६ कांस्य गरी २० पदकसहित तेस्रो भएको छ । यस्तै, तानसेन नगरपालिका–३, बसन्तपुरस्थित जनता नमुना माविले ५ स्वर्ण, ७ रजत र ५ कांस्य गरी १७ पदकसहित चौथो भएको छ ।

तानसेनस्थित देववाणी मावि तानसेनले ४ स्वर्ण, बेथल बोर्डिङ तानसेनले ३ स्वर्ण पदक जितेका छन् । सेन, पाल्पा आवासीय, न्यू होराइजन, जनप्रिय, मोहनकन्या, तानसेन बहुमुखी, भुसालडाँडा माविले पनि १/१ स्वर्ण पदक हात पारे । कुल ४४ स्वर्ण र ४४ रजत पदकका लागि प्रतियोगिता भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । एथलेटिक्सका साथै कराँते, तेक्वान्दो, भलिबल, कपर्दीलगायतका खेल संचालन भएको खेलकुद विकास समितिका राजु बयम्बुले जानकारी दिए ।
